अपराध

राैतहटमा लागुऔषधमा व्यापक युवाको सलंगन्ता

जगत ठाडा मगर
२०८० माघ २ | बिहान ११:१० बजे
फाइल तस्बिर

अशोक यादव
रौतहट । रौतहटको उत्तरी भेगका चन्द्रनिगाहपुरमा रहेको लागुपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्रमा १० जना दुर्व्यसनी रहेका छन् । उज्वल भविष्य फाउण्डेसन आवासीय : लागूपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्र खोलेको हो । अहिले केन्द्रमा दुर्व्यसनमा फसेका १० जना दुर्व्यसनमुक्त हुने प्रक्रियामा रहेका छन् । जसमध्ये ५ जना २० वर्षमुनिको रहेको पाइएको छ ।

पुनःस्थापन केन्द्रका अभिशेष खड्काले चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधीहरू बढी मुनाफाको लोभमा औषधी पसलेले बिक्री गर्दा दुर्व्यसनी बढेको बताए । नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधी किनेर ल्याउने भएकाले दुर्व्यसनीमा यूवाहरु नै बढी संलग्न  रहने गरेको पाइएको उनको भनाइ छ ।

कुनै समय आफैँ पनि लागुऔषध दुर्व्यसनमा फसेको उल्लेख गर्दै उनीहरुलाई मनोसामाजिक परामर्श आवश्यक पर्ने धारणा व्यक्त गरे । सानै उमेरका किशोरहरू लागुऔषधको दुर्व्यसनमा फस्नुका कारण उनीहरूको संगत मात्रै नरहेको पाइन्छ । कतिपय अवस्थामा अभिभावकको कमजोरीका कारण पनि उनीहरू लहैलहैमा दुर्व्यसनको फसिरहेको देखिन्छ । पारिवारिक समस्या, खराब संगत र डिप्रेसनका कारण कुलतमा फस्ने युवा/किशोरको संख्या बढिरहेको नागरिक समाजका अगुवा केदार थापाले बताए । 

छोराछोरी लागुऔषधको कुलतमा लागेको थाहा पाएपनि डरले अभिभावक चुप बस्ने गरेकाले समस्या जटिल हुने गरेको उनको भनाइ छ । बालबालिकाको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिनुपर्ने उनले औँल्याए । चन्द्रपुर अस्पतालका फिजिसियन डा.सुभाष चौधरी लागुऔषध सेवनमा लागेकाहरूमा धेरै समय आफन्तको सम्पर्क भन्दा टाढा बस्न चाहने स्वभाव विकास भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९÷०८० मा लागूऔषध सम्बन्धी ३६ मुद्दा दर्ता भएको थियो । लागुऔषध सम्बन्धी दर्ता भएको मुद्दामा ३५ वटा फैसला भइसकेको प्रहरीले जानकारी दिएको छ । यस अवधीमा लागुऔषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएकोमा उनीहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाइजेपाम इन्जेक्सन, १५ सय ७९ पिस फेनारगन इन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रदेशका ८ जिल्लामा संञ्चालित १८ सुधार केन्द्रमा अहिले ४ सय ८१ जना छन् । जसमा ७३ जना दुर्व्यसनी २० वर्षमुनिका देखिन्छन् ।

कमेन्टहरु