आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाको आवेदन


काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आवेदनको अन्तिम मिति आइतबारसम्ममा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा. डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले आवेदन दिएका छन् ।
यस्तै, मोरङका विराटनगर–१३ का पङ्कजकुमार दास, विराटनगर–३ का माधव रेग्मी र कटहरी गाउँपालिका–३ का आमोदप्रसाद चौधरीले आवेदन दिएका छन् ।
त्यसैगरी आवेदन दिनेमा टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनी रहेको मन्त्रालयले जनाएको छ ।
आयल निगममा ०७५ यता खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट थालिएको हो । निवेदन दिएकाहरूमाथि मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा बस्ने छनौट समितिले चयन गर्नेछ । आवेदकको अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिममा तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्ने र तीमध्ये एक जनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।























