राष्ट्रियसभा निर्वाचन : एकीकृत समाजवादीको भागमा दुई सिट, तीन नेताले उम्मेदवार चयन गर्ने


काठमाडौँ, पुस २२ । राष्ट्रियसभाका लागि नेकपा (एकीकृत समाजवादी)को भागमा दुई सिट परेको छ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कम्तीमा तीन सिट पाउनुपर्ने अडान राखेपनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहमत नभएपछि पार्टीले दुई सिटमा चित्त बुझाएको हो ।
दुई सिटका लागि उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको छ । समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकले उनीहरुलाई उम्मेदवार चयन गर्ने दिने जिम्मा दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
क्लस्टरका कारण समेत पार्टीको तर्फबाट उम्मेदवार टुङ्ग्याउन ढिलाइ भएको भन्दै उनले अन्य दलसँग पनि परामर्श गरेर निर्णय हुने जानकारी दिए । उनका अनुसार आज साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
एकीकृत समाजवादीले बागमती र कर्णालीमा गरी दुई सिट भाग पाएको छ ।






















