नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

नवलपुर टुडे
२०८० पुस २२ | बिहान ०७:०९ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने गरी कार्य सम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको सिट बाँडफाँटबारे भएका छलफलबारे समितिका सदस्यहरूलाई ब्रिफिङ गराउने छन् ।
यसअघि हिजो बस्ने भनिएको बैठक विशेष कारणवश भन्दै आजका लागि सारिएको थियो । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । कांग्रेसको आजको बैठकमा पार्टीको आगामी महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।






















