राजनीति

भैरहवामा पूर्वराजा शाहसँग राप्रपाका शीर्ष नेताहरुको भेटघाट

जगत ठाडा मगर
२०८० पुस १८ | मध्यान्ह ०३:०९ बजे

बुटवल, पुस १८ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुले सामूहिक भेट गरेका छन् । नागरिक अभिनन्दन तथा भेटघाट कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका पूर्वराजा शाहलाई राप्रपाका शीर्ष नेताहरुले भैरहवा आएर भेटेका हुन् ।

पूर्वराजा शाहसँग भेटघाटको तस्बिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह देखिन्छन् । उनीहरु तीन वटा फरक फरक उडानमार्फत भैरहवा आएको बुझिएको छ । मिश्र र तामाङ एउटा फ्लाइटबाट, राणा र सिंह अर्को फ्लाइटबाट सँगै आएका थिए । अध्यक्ष लिङ्देन भने आफ्ना भेटघाटहरु सकेर एक्लै आएका हुन् ।

नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् । ‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन् । 

भेटमा सहभागी नेता तामाङले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङसहित भेटवार्ता गरेको भन्दै यो नियमित भेटवार्ता भएको जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई भाेलि भैरहवामा नागरिक अभिनन्दन गरिदै छ । शाह दुई साता यता रूपन्देही बसेका छन् । यसअघि कपिलवस्तु र नवलपरासीमा पुगेर उनले अभिनन्दन ग्रहण गरिसकेका छन् ।

कमेन्टहरु