खेलकुद

अपाङ्गता पुनःस्थापन समितिद्वारा क्रिकेट खेलाडी खड्कालाई सम्मान

नवलपुर टुडे
२०८० पुस १७ | बिहान ०७:०९ बजे

कपिलवस्तु । कपिलवस्तुकाे शिवराज नगरपालिका स्तरीय अपाङ्गता पुनःस्थापन समितिले क्रिकेट खेलाडी दिपक खड्कालाई सम्मान गरेकाे छ । खड्का जिल्लाकाे शिवराज नगरपालिकाकाे वडा नम्बर २ बालापुरका निवासी हुन् ।

शिवराज नगर स्तरीय अपाङ्गता पुनःस्थापन समितिका अध्यक्ष सन्ताेष आचार्यले नेपाल-भारतबीच भएको पहिलो ऐतिहासिक क्रिकेट खेलमा सबैको राष्ट्रिय अपाङ्गता खेलकुद संगठन नेपालको नेतृत्वमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेकाे भन्दैे फूलमाला र खादाले क्रिकेट खेलाडी दिपक खड्कालाई साेमबार सम्मान गरेकाे बताउनु भयो ।

भारतको आगरामा सम्पन्न भएको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच टी- ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेर गृह नगर फर्किएपछि खड्कालाई सम्मान गरिएको आचार्यले बताउनु भयो । यस खेलले अपाङ्गता भएका व्यक्तिहरुकाे मनाेबल बढाउने र खेलप्रति उनीहरुको चाँसाेकाे विषय समेत बनाएको उहाँको भनाई रहेको थियो ।

यस्तै विजयनगर गाउँपालिका स्तरीय अपाङ्गता पुनःस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद काफ्लेले पनि क्रिकेट खेलाडी दिपक खड्कालाई सम्मान गरेका छन् । उनले यस खेलले अपाङ्गता भएका व्यक्तिलाई खेलप्रति प्राेत्साहित गरेकाे भन्दै बधाईसहित शुभकामना व्यक्त गर्नु भयो।

यसैगरी शिवराज नगरपालिकाका कर्माचारी, उद्योग वाणिज्य संघ चन्द्राैटाले समेत खड्कालाई सम्मान गरेकाे जनाएको छ । यस सम्मानले अपाङ्गता भएका व्यक्तिहरुलाई खेल लगायत विविध क्षेत्रमा प्राेत्साहित गर्ने विश्वास गरिएको छ ।

खड्काले नेपाल र भारतबीचको पहिलो टेस्टमा पनि डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण ४ विकेट लिनु भएको थिए । क्रिकेट खेलाडी खड्काले सम्मान ग्रहण गर्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय सरकार लगायत तीनै सरकारले क्रिकेट खेलमा लगानी गर्न आवश्यक रहेकाे बताउनु भयो ।

कमेन्टहरु