सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी

जगत ठाडा मगर
२०८० पुस ११ | बिहान ०७:०९ बजे

काठमाडौँ, पुस ११ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
यसअघि गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।























