राजनीति

रास्वपाले नारायणगढदेखि बुटवलसम्म ११३ किमी हिँडेर दबाब यात्रा गर्ने

जगत ठाडा मगर
२०८० पुस ५ | मध्यान्ह ०८:०९ बजे

पूर्वी नवलपरासी, पुस ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुस ९ गतेदेखि दबाब यात्रा सुरू गर्ने भएको छ । पूर्वी नवलपरासीको गैंडाकोटबाट दबाब यात्रा सुरू गर्ने रास्वपाले जनाएको छ ।

नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने रास्वपाको भनाइ छ । यस्तै, सडक आसपासका स्थानीयसँग पनि रास्वपाले अन्तर्क्रिया गर्ने जनाएको छ । 

नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर हिँडेर नै रास्वपाले दबाब यात्रा गर्ने छ । यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन् । यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुनेछन् । यात्रामा सर्वसाधारणलाई पनि सहभागी हुन रास्वपाले आह्वान गरेको छ ।

कमेन्टहरु