खेलकुद

महिला नेत्रहीन क्रिकेट नेपालले भारतलाई उसैको मैदानमा १० विकेटले हरायो

नवलपुर टुडे
२०८० मंसिर २७ | मध्यान्ह ०३:०८ बजे

काठमाडौँ । भारतको मुम्बईमा जारी द्विपक्षीय महिला नेत्रहीन टी—२० क्रिकेट शृंखलाको बुधबार खेलिएको खेलमा नेपालले भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली नेपालले भने १९.१ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय ७४ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालको जितमा बिनिता पुनले अविजित ७८ रनको योगदान गरिन् । उनले केवल ६० बलको सामना गरी सात चौका पनि हिर्काइन् ।

नेपालका लागि अर्की ओपनर मनकेषी चौधरीले पनि अविजित ७५ रन बनाइन् । उनले केवल ५७ बलको सामना गरी पाँच चौका हिर्काइन् । नेपालले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि सीमु दासले ६१ बलको सामना गरी अविजित ८४ रन बनाएकी थिइन् । भारतका लागि सुनिता सार्थीले पनि अविजित ३१ रन बनाइन् । भारतले अतिरिक्त रुपमा पनि २० रन पाएको थियो । भारतीय टोलीका चारैजना ब्याटर रन आउट भएर पेभेलियन फर्किएका थिए । उक्त खेल मुम्बईस्थित पुलिस जिमखाना मैदानमा खेलिएको थियो ।

उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व प्रतिभा राई, माया लुङ्गेली, मुना अर्याल, पुनम चौधरी, श्रृजना परियार, गिता पौडेल, कान्ती योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेशी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीशरा धमला, उजेली चौधरी र विनिता पुनले गरिरहेका छन् । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा रिजन प्रजु र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला छन् । टोलीको ब्यवस्थापकमा भने ज्योति केसी, पवन घिमिरे र सागर लामा रहेका छन् ।

कमेन्टहरु