त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद


काठमाडौँ, मंसिर २४ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले फेरि सुन बरामद गरेको छ । गएराती विमानस्थल भन्सार कार्यालयले दुबईबाट अवैधरुपमा ल्याइएको साढे ६ किलो सुन बरामद गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका एक इजिप्सयन नागरिकले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो । दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद सालेहले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको हो ।
विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सालेहलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।























