विद्यार्थीहरुलाई पोशाकमै ‘केपी बा हाई हाई’ भन्न कसले सिकायो ?


काठमाडौँ । नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानका क्रममा अध्यक्ष केपी शर्मा ओलीको गेरु अवतारका फोटो, भिडियोले सामाजिक सञ्जाल सेलाउन नपाउँदै स्कुले बालबालिकाले केपी ओलीको समर्थनमा नारा लगाएको भिडियोले सामाजिक सञ्जाल तातिएको छ।
एमालेले आयोजना गरेको कार्यक्रममा ओली अछाम पुग्दा त्यहाँस्थित विद्यामन्दिर नमूना माध्यामिक विद्यालयका बालबालिकाहरुले केपी ओलीको समर्थनमा नारा लगाएका हुन्।
राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने भनेर राजनीतिक दलहरुले प्रतिवद्धता जनाए पनि त्यो रोकिन भने सकेको छैन। बालबालिकाको हक अधिकारसँग सरोकार राख्ने विभिन्न संघ संस्था र मानव अधिकार आयोगले पनि बालबालिकालाई राजनीतिक क्रियाकलापमा प्रयोगमा वर्जित गरेका छन्।
तर अछाममा ओली पुग्दा स्कुलका शिक्षकहरुले नै विद्यालयका सबै बालबालिकालाई भेटघाट र स्वागत गर्ने तारतम्य मिलाएका हुन्। एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अन्र्तगत गत आइतबार अछामको पंचदेवलमा पनि कार्यक्रममा राखिएको थियो।
एमालेको कार्यक्रम स्थलभन्दा झन्डै चार सय मिटर नजिक रहेको मध्यपहाडी राजमार्गसँगै जोडिएको विद्यामन्दिर नमूना माध्यमिक विद्यालयका बालबालिकाले स्कूलकै गेटमा ओलीलाई भेटेका हुन्। ओलीलाई भेट्न उनीहरु स्कूलको गेट बाहिर लामै लस्करमा उभिएका थिए। लाइनभन्दा पछाडि छरपस्ट भएर पनि विद्यार्थीहरु उभिएका थिए। लाइनको सुरुमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका व्यक्तिहरु पनि थिए।
जब लाइन लागेका उनीहरुले ओलीलाई फूल दिएर स्वागत गर्न थाले, स्कूलको पोशाकमै रहेका अन्य विद्यार्थीहरु हौसिएर केपी बा हाई हाई, अरु सबै बाई बाई भनेर नारा लगाउन थाले। नारा लगाउनेमा छात्राहरु बढी थिए। विद्यार्थीले ओलीको जयजयकार आफैँ गरे वा गर्न लगाइयो भन्ने मुख्य प्रश्न हो।
ओली राजनीतिमा होस् वा अन्य गतिविधिमा नै किन नहोस्, समाज र सञ्चारमाध्ययमको ध्यान आफूतिर खिचिरहन चाहन्छन्। पछिल्लो दृष्टान्तको रुपमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन मार्फत गरेको संवादलाई लिन सकिन्छ।
पार्टी कार्यक्रममा डडेलधुराको गन्यापधुरा नजिकै पुगेपछि उनले देउवालाई फोन गरेर जयनेपाल भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
देउवाको गृहजिल्ला पुगेर ओलीले उनलाई सम्झिनुलाई केही हदसम्म सकरात्मक रुपमा लिन सकिएला तर नियोजित तवरले भिडियोलाई सामाजिक सञ्जालमा छरपस्ट पार्नुचाहिँ प्रचारको लोभबाहेक केही नभएको राजनीतिक र नागरिक तहमा टिप्पणी भएका छन्।
अछाममा बालबालिकाले ओलीप्रति देखाएको उक्त व्यवहार स्वतस्फूर्त भएको विद्यालय व्यवस्थापक पक्षले दाबी गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढाले विद्यार्थीको आग्रहमा शिक्षक र व्यवस्थापन समितिको समन्वयमा ओलीसँग भेट गराएको बताउँदै नारा भने विद्यार्थीले आफै लगाएको सुनाए।
उनले देश सञ्चारसँग भने, ‘एकदम छोटो समयमा विद्यार्थी र स्कुलका शिक्षकहरुको सल्लाह बमोजिम हामीले पनि स्वागत गर्न पाए हुन्थ्यो भन्ने कुरा आयो, पार्टीको कार्यक्रममै जाँदा राम्रो नहुने भएपछि स्कुलकै गेटमा स्वागत गरियो, ओलीलाई स्वागत गर्न शिक्षक र विद्यार्थीहरु माला लिएर लहरै बसे।’

उनले थपे, ‘विद्यालयका प्रधानध्यापक पहलसिँह नेपालीसहितका शिक्षक र विद्यार्थीहरु लाइनमा हुनुहुन्थ्यो,ओलीसँग स्कुलका शिक्षकले दुईतीन मिनेट विद्यालयको समस्याबारे कुरा राख्नुभयो। त्यहाँ विद्यार्थीहरुबाट एकाएक केपी ओली हाईहाई अरु नेता बाई बाई नारा लागे।’ नारा नियोजित, पूर्वतयारी वा घुसपैठवाला नभएको उनको भनाइ छ।
उनी थप्छन्, ‘अभिभावक पनि त्यहाँ छैनन्। शिक्षक, कर्मचारी पनि ती विद्यार्थीहरु भएको ठाउँमा थिएनन्। फोटो हेर्नुभयो भने स्कुल ड्रेस लगाएका विद्यार्थीहरु बाहेक त्यहाँ अरु कोही देखिँदैनन्, विद्यार्थीलाई सिकाइएको थिएन, उनीहरुले के कसरी नारा लगाए, त्यो लगाउनेमै निहीत हुने भयो। बिग्रिएको ट्याक्टर मध्यपहाडी राजमार्गको छेउमा अर्थात हाम्रो स्कुल अगाडि राखिएको थियो। अग्लो स्थानमा चढेर विद्यार्थीहरुले ओलीको कार्यक्रम हेरेका थिए। विद्यार्थी ओसारपोसार भयो भनेर त्यो पनि गलत प्रचार भयो।’
यता राष्ट्रिय मानव अधिकार आयोगले अछामको उक्त घटनालाई राम्रोसँग छानबिन गर्ने प्रतिवद्धता जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोख्रेलले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जान्दा जान्दै पनि प्रयोग नघट्नु भनेको कानुनप्रतिको उदासीनता भएको बताए।
उनले देश सञ्चारसँग भने, ‘नारा,जुलुस,चुनावमा बालबालिका प्रयोग गर्न हुँदैन भनेर हामीले पटक पटक बोलेको हो। अछामको घटनालाई हामीले राम्रोसँग हेर्न बाँकी नै छ। हाम्रो धनगढीस्थित कार्यालयले हेर्दै होला, बालबालिकाहरु कार्यक्रम हेर्न गएको हो वा प्रयोग नै भएको हो त्यो अर्कै पाटो हो, त्यहाँ गएर नहेरीकन भन्न सकिन्न।’
उनी थप्छन्, ‘बालबालिकाहरु हेर्न भनेर दौडिन्छन्, त्यसरी दौडिएका बालबालिकाहरुलाई त केही गर्न सकिदैन शिक्षकहरुले नै योजना बनाएर लगेका हुन् भने त्यो गल्ती हो। राजनीतिक दलका नेता र शिक्षकहरु यस बिषयमा अनविज्ञ हुने भन्ने हुँदैन। कानुनबाट बालबच्चा चाहिँ अनविज्ञ होलान् भन्न मिल्छ।’
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले एमालेले मात्रै नभई जुनसुकै राजनीतिक दलले पनि बालबालिकालाई प्रयोग गर्न नपाउने बताएको छ।
उक्त अभियानका महासचिव तिलोत्तम पौडेलले भने, ‘नेपालमा भएका राजनीतिक दलहरुले बालबालिका र विद्यालयहरुलाई राजनीतिक कार्यक्रममा प्रयोग गर्दैनौँ भनेर प्रतिवद्धता गर्नुभएको छ। इन्टेसन खराव नहुन सक्छ तर बालबालिकाहरु लाई यस्ता कार्यक्रमहरुमा हामीले सहभागी गराउन हुँदैन। यस्ता गतिविधि अन्त्य गर्नको लागि घोषणा पत्र, ऐन कानुनहरु राजनीतिक दलले पालना गर्नुभयो भने घटना सुन्न,देख्न पर्दैन।’ उनले बालबालिका सन्दर्भमा सबै राजनीतिक दलहरुले कानुनको परिपालना गर्न दबाब दिएका छन्।
केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेको कार्यक्रममा लाइन लागेर बेहोस भएकी बालिकाको पछि मृत्यु भएको घटना स्मरण गर्दै उनले राजनीतिक कार्यक्रममा बालबालिकाको सहभागीता निरुत्साहित गर्न महासचिव पौडेलले आग्रह गरेका छन्।






















