पक्राउ पुर्जीविरूद्ध नेकपाको ३ दिने संघर्ष कार्यक्रम घोषणा


काठमाडौं, मंसिर १९ । जिल्ला अदालत काठमाडौबाट जारी भएको पक्राउ पुर्जी विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षको कार्यक्रम गर्ने घोषणा गरेका छन् ।
काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ । ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो । राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले संघर्षको कार्यक्रम घोषणा गर्दै भनेका छन् ।
प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमध्ये एउटा पार्टी नेताका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको पनि उनले बताएका छन् । ‘राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरूलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अंग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ,’ उनले भनेका छन् ।
पक्राउ पुर्जीविरूद्ध नेकपाले आजदेखि तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ । आज साँझ साढे ५ बजे मसाल जुलुस निकाल्ने, बुधबार दिउँसो ३ बजे न्यायाधीशको पुत्ला दहन गर्ने र बिहीबार २ बजे देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले जनाएको छ ।























