गणतन्त्रको पक्षमा ठूलो जनमत छ, यो व्यवस्था त्यति कमजोर छैन : अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले विभिन्न बाहनामा अहिलेको व्यवस्थामाथि प्रश्न उठाउने काम भइरहेको भए पनि त्यो असम्भव रहेको बताएका छन् ।
उनले गणतन्त्रका पक्षमा ठूलो जनमत रहेकोसमेत दाबी गरे । बुधबार नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री महतले कसैले पनि व्यवस्थालाई कमजोर पार्ने गरी प्रयास गर्नु दुष्प्रयासमात्रै हुने बताए ।
‘विभिन्न बाहनामा यो व्यवस्थामाथि प्रहार गर्ने र यसलाई कमजोर पार्ने प्रयास भइरहेको छ । तर यो व्यवस्था त्यति कमजोर छैन, यो जनताको माझबाट स्थापित छ, यसमाथि प्रश्न उठाउने लक्ष्यकासाथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर पार्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘यो यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । समस्याहरू छन्, क्रमशः समाधान गर्दै अघि बढ्नुपर्छ ।’
अर्थमन्त्री महतले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए । ‘सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ । फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन,’ उनले भने । उनले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत पुनर्स्थापनाका लागि ठूलो बजेटको खाँचो हुने देखिएको बताए ।
सरकारले आफ्नो स्रोत साधनबाट मात्रै पुनर्स्थापना र पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको भन्दै उनले त्यसका लागि दातृ निकायको समेत समर्थन र सहयोगको खाँचो रहेको बताए ।






















