उच्च अदालतमा नियुक्त भएका ६ मुख्य न्यायाधीशले लिए शपथ


काठमाडौँ, मंसिर ७ । उच्च अदालतमा नियुक्त भएका ६ जना मुख्य न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मंगलबार बसेको न्याय परिषदको बैठकले सर्वोच्चसँग उच्चमा मुख्य न्यायाधीश सिफारिस गरेको थियो । परिषदको सिफारिसअनुसार उनीहरुलाई श्रेष्ठले नियुक्ति दिएपछि गोपनीयतको शपथ गराएका हुन् ।
परिषदले लोहितचन्द्र शाहलाई मुख्य न्यायाधीश बनाएर उच्च अदालत सुर्खेतको जिम्मेवारी दिइएको छ भने माधवप्रसाद पोखरेललाई मुख्य न्यायाधीश बनाएर उच्च अदालत पोखराको जिम्मेवारी दिइएको छ । त्यस्तै रमेशप्रसाद राजभण्डारीलाई मुख्य न्यायाधीशमा सिफारिस गर्दै उच्च अदालत विराटनगरमा पठाइएको छ ।
श्रीकान्त पौडेललाई मुख्य न्यायाधीशसँगै उच्च अदालत जनकपुरको जिम्मेवारी दिइएको परिषदको निर्णयमा उल्लेख छ । नित्यानन्द पाण्डेलाई मुख्य न्यायाधीश बनाइएको छ । उनलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश बनाइएको छ । शान्ति सिंह थापालाई मुख्य न्यायाधीश बनाएर उच्च अदालत दिपायलको प्रमुखको जिम्मेवारी दिइएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
दिपायलमा कार्यरत मुख्य न्यायाधीश नृपध्वज निरौलालाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ । उनी स्वतः सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुपर्ने भए पनि मंगलबार उनलाई पन्छाएर जुनियरहरुलाई ल्याइएको छ । यसपटक सर्वोच्च र उच्चको मुख्य न्यायाधीशमा सिनियरहरुलाई पन्छाएर जुनियरहरुलाई ल्याइएको हो ।























