राजनीति

जसपाका पूर्वसांसद रौनियार एमाले प्रवेश

नवलपुर टुडे
२०८० मंसिर ५ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं, मंसिर ५ । जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरे । रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे । रौनियारको नेतृत्वमा जसपाका अन्य केही कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् ‌।

कार्यक्रममा एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली र केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतको उपस्थित थियो ।

पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए । उनी निर्वाचित भएको केही समयपछि पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण निलम्बित भएका थिए । उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगर्दा उनी विवादमा मुछिँदै आएका थिए । 

कमेन्टहरु