चिसो छल्न चितवनमा आउन थाले ‘पर्यटक’ चरा

रासस


चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजातिसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् ।
यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए ।
उनका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँका नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । नेपालकै पहाडी भेगबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।
चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट नेपालमा चरा आउने गरेका छन् । हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा नेपाल आउने गरेका छन् । वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेका उनले बताए ।
उनले भने, “चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”
नेपालमा १५० प्रजातिका चरा आगन्तुक रूपमा आउने गरेका उनले उल्लेख गरे । अहिलेसम्म १०० प्रजातिका चरा आइसकेका उनले बताए । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उनले जानकारी दिए ।
पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्न समय समेत नहुने भएकाले ती चरा आउने गरेका उनले बताए ।
नेपालमा विशेष गरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल ८९२ प्रजातिका चरा पाइन्छ । चितवनमा ६५० प्रजातिका चरा रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो वासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















