राजनीति

विप्लव रोक्न ‘एक भएका’ शर्मा र पुनलाई मनाएर प्रचण्डले कसरी भित्र्याऊलान् बाबुराम र विप्लव ?

नवलपुर टुडे
२०८० मंसिर ३ | मध्यान्ह ०७:०८ बजे
काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी रुकुम पुगेर पूर्वमाओवादीहरू एक हुने सन्देश दिन चाहे । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा जानुअघि प्रचण्डले पूर्वमाओवादी नेताहरूसँग छलफल पनि गरेका थिए । प्रचण्डले साथ छोडेर हिँडेका नेत्रविक्रम चन्द विप्लव र बाबुराम भट्टराईसँग छलफल गरेका थिए । त्यही कुरा पूर्वी रुकुममा पुगेर भने, ‘नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको थियो । नेसपा अध्यक्ष बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको छ ।’

पूर्वी रुकुम उड्नुअघि विप्लवसँग पार्टी एकताको विषयमा छलफल गरेका प्रचण्डले शुक्रबार साँझ बाबुराम भट्टराईसँग छलफल गरेका थिए । पूर्वी रुकुममा प्रचण्डले विप्लव र भट्टराई एकतामा आउने सन्दर्भ सुनाइरहँदा काठमाडौंमा पनि माओवादी केन्द्र र नेसपाका नेताहरू वार्तामा थिए । माओवादी केन्द्रमा जसरी भट्टराई र विप्लवलाई भित्र्याउने चाहना छ, त्यसरी नै उनीहरू पनि एकीकृत हुन चाहेका छन् ।

२०७९ मंसिरको चुनावअघि नै प्रचण्ड र भट्टराईबीच सहमति भएको थियो– एकताका लागि । उनीहरूले पार्टीको नामदेखि पदीय जिम्मेवारीसमेत टुंगो लगाएका थिए । त्यही सहमतिका आधारमा बाबुराम भट्टराईले गोरखा– २ प्रचण्डका लागि छोडिदिए अनि माओवादी केन्द्रले आफ्नो चुनाव चिह्नमा भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं– ७ मा उम्मेदवार बनायो । चुनावी नतिजापछि परिस्थिति फेरियो । बाबुरामसँग एकताभन्दा प्रचण्ड दूरीमै बस्न चाहे । त्यही कारण, बाबुराम पछिल्ला दिनमा प्रचण्डसँग निकै आक्रोशित थिए ।

प्रधानमन्त्री भएपछि बाबुरामलाई प्रचण्डले राष्ट्रपति वा कार्यवाहक अध्यक्ष बनाउनेसम्मको अनौपचारिक सहमति थियो । प्रचण्ड उक्त अनौपचारिक सहमतिबाट पछाडि हटे । त्यति मात्र होइन, बाबुरामसँग सामान्य छलफलसमेत गर्न छोडे । शिलापत्रसँगको भेटमा बाबुरामले भनेका थिए, ‘चुनावपछि प्रचण्ड प्रधानमन्त्री हुने अनि केही योजनाबद्ध रूपमा देशको विकासमा जाने भन्ने सहमति भएको थियो तर, प्रचण्डले कुरा नै सुन्न छाड्नुभयो ।’

वास्तवमा प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएदेखि नै बाबुरामसँग उनको दूरी बढ्दै गएको थियो । त्यसमाथि सरकार विस्तारका क्रममा पनि बाबुरामको समूहका नेतालाई मन्त्री बनाउने सन्दर्भमा प्रचण्डले आनाकानी मात्रै गरेनन्, रोजेको मन्त्रालय पनि दिएनन् । बाबुरामको कोटाबाट मन्त्री भएका महेन्द्रराय यादवको मन्त्रालय पटकपटक हेरफेर गराए । त्यसले बाबुराम र प्रचण्डको दूरी बढाउने काम गरेको छ । त्यसो त, प्रचण्डले बाबुरामलाई राष्ट्रपतिका लागि अगाडि सार्ने गरी गठबन्धनमा सामान्य छलफलसमेत चलाएनन् ।

131300719bigyapti

त्यसले गर्दा टाढिँदै गएका बाबुरामले एकतामा अरुचि देखाए । यद्यपि, गत वैशाखमा बाबुराम भट्टराई पक्षले एकताका लागि सर्तसहित माओवादी केन्द्रलाई पत्र पठायो । प्रचण्डले उक्त पत्रको जवाफ दिन आवश्यक ठानेनन् । त्यति मात्र होइन, बाबुरामकै लाइन र एजेन्डाअनुसार नेकपा एस, नेकपा र जसपालाई जोडेर माओवादी केन्द्रले समाजवादी मोर्चा बनायो । उक्त मोर्चामा पनि बाबुरामलाई अटाउने प्रयास प्रचण्डले गरेनन् । जसपा छोड्दा उपेन्द्र यादवको तिक्ततापूर्ण सम्बन्धका कारण बाबुरामलाई मोर्चामा नल्याउन यादवको जोडबलमा प्रचण्ड सहमत भइदिए । त्यस घटनाबाट पनि बाबुराम प्रचण्डसँग रुष्ट बनेका थिए ।

एकताका सन्दर्भमा लामो समय मौन बसेर प्रचण्डले साउनको केन्द्रीय कमिटी बैठकमा एकताको विषयमा छलफल गर्ने गरी एजेन्डाको तयारी भइरहेको थियो । बाबुराम भट्टराईसँग मात्र होइन, नेत्रविक्रम चन्द विप्लवसँग पनि एकता गर्ने तयारी प्रचण्डले थाले । त्यसको सम्पर्क सूत्र र व्यवस्थापनको काम भने उपाध्यक्ष कृष्णबहादुर महराले गरिरहेका थिए । विप्लवलाई पार्टीमा ल्याएर महासचिवको रूपमा अगाडि सार्ने प्रचण्डको मनसाय रहेको माओवादी नेताहरूको भनाइ थियो । प्रचण्डको त्यही तयारीअनुसार महराले पार्टीको भावी संगठनात्मक कार्यक्रमको खाका तयार गर्दै थिए । तर, माओवादीभित्र ठूलो हलचल पैदा भयो सुन प्रकरणले ।

विप्लवलाई पार्टी एकतामा आउनबाट रोक्ने खेलमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सक्रिय रूपमा लागे । त्यसमा थपिएका थिए अर्का उपहासचिव शक्ति बस्नेत । राजनीतिक जीवनमा सधैँ दुई धारमा उभिने पुन र शर्मा गत साउनमाचाहिँ एकै ठाउँमा उभिए–विप्वललाई रोक्न । कतिसम्म भने शर्मा र पुन मिलेको देखाउन एकअर्काको घरमा गएका फोटोहरू पनि सार्वजनिक गराए ।

अध्यक्ष प्रचण्डलाई दबाब बढाउनका लागि सार्वजनिक मञ्चमा समेत विप्लवको आलोचना गरेर पुन र शर्माले पार्टीभित्र विप्लवविरोधी जनमत तयार गरेका थिए । त्यति नै बेला महरालाई सुन तस्करीको आरोप लाग्यो । विप्लवलाई पार्टी एकतामा ल्याउने प्रयासमा रहेका महरा नै प्रतिरक्षात्मक अवस्थामा पुगेपछि प्रचण्डले केन्द्रीय कमिटी बैठकमा बाबुराम र विप्लवसँगको एकताको एजेन्डा ल्याउने हिम्मत नगरेको माअ‍ोवादी नेताहरूको भनाइ छ ।

विप्लव भने पार्टी एकताको पक्षमा रहँदै आएका छन् । यद्यपि, उनी पनि अनुकूल परिस्थितिको खोजीमा देखिन्छन् । विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेलले विचार मिल्नेसँग एकता हुने बताइन् । शिलापत्रसँगको कुराकानीमा भुजेलले भनिन्, ‘विचार मिल्नेसँग एकता गर्ने कुरा पार्टीको लाइन हो, त्यसमा कुन पार्टी, नेता भनेर अहिले भन्ने कुरा होइन ।’

साउनको केन्द्रीय कमिटीबाट केही निर्णय गर्न नसकेका प्रचण्डले एक्कासि ३० साउनमा नेसपासँग एकताको प्रस्ताव पठाए । बाबुराम भट्टराई भारत भ्रमणमा रहेको बेलामा माओवादीले नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादवलाई सम्बोधन गरे उक्त प्रस्ताव पठाएपछि बाबुराम थप बिच्किएका हुन् । त्यतिबेला कतिसम्मको अवस्था थियो भने बाबुरामले एकता अस्वीकार गरे पार्टी विभाजन गरेर भए पनि जाने यादव पक्षको लाइन थियो । तर, प्रचण्डले बाबुरामसहित एकता चाहेका कारण त्यतिबेला नेसपाको गुटबन्दी रोकिएको बताइन्छ । माओवादी स्रोतका अनुसार अहिले प्रचण्ड बाबुरामसहितको एकताको प्रयासमा छन् ।

सोही कारण शीर्ष नेताहरूको तहमा एकता संयोजन समिति बनाउनकै लागि बाबुरामसँग प्रचण्डले छलफल गरिरहेका छन् । बाबुरामले त्यसमा सहमति जनाइसकेका छैनन् । प्रचण्डका पछिल्ला गतिविधिसँग असहमत देखिएका बाबुराम एकताको पक्षमा खुलिसकेका छैनन् । यद्यपि, नेसपाका नेताहरू जो बाबुरामका खास निकट भनिएका छन्, उनीहरू पनि बाबुरामको विकल्प एकता मात्रै रहेको सन्देश प्रवाह गरिरहेका छन् ।

त्यसैले ७ मंसिरबाट सुरु हुने नेसपाको केन्द्रीय कमिटी बैठकमा एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ । बाबुरामको अनिच्छाबीच यादवहरूको समूहले दबाब बढाउन सक्दा एकता संयोजन समिति बन्न सक्ने नेसपाका एक नेताले बताए । ती नेताका अनुसार पछिल्ला दिनमा बाबुरामका निकट भनिने गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डेसमेत एकताको पक्षमा छन् ।

कमेन्टहरु