मुख्य समाचार

सर्लाहीमा गाडिएको युवतीकाे शव निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाइयो

नवलपुर टुडे
२०८० मंसिर ३ | मध्यान्ह ०४:०८ बजे

सर्लाही, मंसिर ३ । सर्लाहीमा प्रहरीले गाडिएको शव सात दिनपछि निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । जिल्लाको हरिवन नगरपालिका–११ बालगंगाका १७ वर्षीया तबसुन खातुनको शव चिहानबाट निकालेर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको हो ।

युवतीको मृत्यु शङ्कास्पद देखिएकाले स्थानीय जनप्रतिनिधि र मुस्लिम समुदायका अगुवाको रोहबरमा आज आइतबार बिहान खाल्डोबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले जानकारी दिए । खातुनको शव परीक्षणपछि पुनः मुस्लिम परम्पराअनुसार नै अन्त्येष्टि गरिने सहमतिमा चिहानबाट निकालिएको हो ।

उनको गत कात्तिक २६ गते राति रहस्यमय मृत्यु भएको थियो । खातुनको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले मृतककी सौतेनी आमा सकिना खातुन, मृतककी मामा शेख जिलानी र उनका छोरा शेख असजदलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।

मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमान्‌तर्फको छोरा शेख चाँद फरार भएका छन् । दुवैजनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु