महोत्तरीबाट सम्पर्कविहीन भएका पाँच किशोरी धनुषामा भेटिए

जनकपुरधाम, कात्तिक २३ । महोत्तरीबाट सम्पर्कविहीन भएका पाँच जना किशोरी धनुषामा फेला परेका छन् । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।
औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले पाँचै जना किशोरी ढल्केवरबाट सम्पर्कमा आएको जानकारी दिए ।
घरबाट जबर्जस्ती बिहे गरदिन लागेपछि योजना बनाएरै घरबाट घुम्न निस्केको एक जना किशोरीले बताएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले किशोरीहरूले फोन गरी प्रहरीको सम्पर्कमा आए पनि आफू रहेको ठाउँ बताएका थिएनन् । लोकेसन ट्र्याक गरेर उनीहरू भएको ठाउँ पत्ता लगाएको गिरीले जानकारी दिए ।
थपकुरा उनीहरुले नबताएको र पाँचै जनालाई महोत्तरी प्रहरीलाई जिम्मा लगाइएको छ ।
फूलवरियाकी १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतीमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कविहीन भएपछि परिवारजनले मंगलबार बेलुकी प्रहरीलाई खबर गरेका थिए ।























