मुख्य समाचार

काठमाडौ महानगरले भोलिदेखि सडकमा छाडिएका चौपायालाई काञ्जी हाउसमा राख्ने

नवलपुर टुडे
२०८० कार्तिक २२ | बिहान १०:०७ बजे

काठमाडौ, कात्तिक २२ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ ।

काठमाडौ महानगरका मेयर बालेन शाहले सडकमा छाडिएका चौपायालाई दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जनाएका हुन् ।

सडकमा छाडिएका चौपायाले भोक लाग्दा खान नपाएको, तिर्खा लागेका बेला पानी नपाएको, विरामी पर्दा उपचार नपाएको साथै सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै भएको बताउँदै उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेको मेयर शाहले जानकारी दिए ।

उनले काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याएको र हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको जानकारी समेत दिए ।

दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधाको प्रबन्ध पनि मिलाएको मेयर बालेनको भनाइ छ ।

कमेन्टहरु