प्रेस काउन्सिलले जबर्जस्ती भिडियो खिचेको आरोपमा एक पत्रकारलाई सोधपुछ

जगत ठाडा मगर
२०८० कार्तिक २० | मध्यान्ह ०६:०७ बजे

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले जबर्जस्ती भिडियो खिचेको आरोपमा एक पत्रकारलाई सोधपुछ गरेको छ । सोमबार पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै काउन्सिलले स्पेस फोके टिभिका पत्रकार कपिल शाहीलाई सोधपुछ गरेको हो । शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाजसमेत उठेको थियो । काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौँ उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए । उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।






















