राष्ट्रसंघीय शान्ति ‘मिसन’को नेतृत्व नेपालले पाउनुपर्छ : राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रसंघीय शान्ति ‘मिसन’को नेतृत्व नेपालले पाउनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आज राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका महासचिव गुटेरेसले आज राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका थिए । अहिलेको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रसंघको भूमिका अझ बढेको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रसंघीय शान्ति ‘मिसन’को नेपाल दोस्रो ठूलो योगदानकर्ता भएको स्मरण गराउँदै शान्ति सेनामार्फत नेपालले गरेको योगदानका निम्ति शान्ति सेना नेपाललाई नेतृत्व तहको जिम्मेवारी उपलब्ध गराउन राष्ट्रपतिले महासचिव गुटेरेससँग अनुरोध गरेका थिए ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपालको योगदान र जिम्मेवारीलगायत समसामयिक विषयमा राष्ट्रसंघीय उच्च प्रतिनिधिमण्डलको ध्यानाकर्षण गरे । उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका यसका नकारात्मक परिणामबारे गम्भीर हुन अनुरोध गरे । उनले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसंघ प्रतिनिधि मण्डलसमक्ष आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भेटका क्रममा सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविरजस्ता स्थलको भ्रमण स्वयम् महासचिवले गर्ने भएकाले सेता हिमाल कसरी काला हुँदैछन्, अतिवृष्टि र अनावृष्टिका कारण परेको प्रभाव आफैँ महसुस गर्ने विश्वास व्यक्त राष्ट्रपतिले व्यक्त गरेका थिए । राष्ट्रपतिले पीडितलाई न्याय, दण्डहीनतालाई निरुत्साहित गर्नेगरी भएको अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासोलाई दृष्टिगत गरी मेलमिलापको सिद्धान्तका आधारमा बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले जानकारी दिए ।
महासचिव गुटेरेसले हरित गृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ‘कोप’ प्रसंग उठाउँदै जलवायु परिवर्तनका नकारात्मक असरबारे विश्वलाई सन्देश प्रवाह गर्न आफू नेपाल भ्रमणमा आएको बताएका थिए ।






















