देउवा र ओलीलाई सामूहिक प्रश्न– मुख्य दलमाथि उठाइएका प्रश्नलाई कसरी जवाफ दिनुहुन्छ ?

नवलपुर टुडे
२०८० कार्तिक ११ | मध्यान्ह ०३:०७ बजे

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलमाथि प्रश्न नउठाइएको जिकिर गरेका छन् । प्रश्न उठाउने प्रयास मात्र गरिएको नेताद्वयको भनाइ छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली करिब सवा २ बजे सानेपा पुगेका थिए । शुभकामना साटेर ओलीले बिदा लिने क्रममा सोधिएको प्रश्नमा दुवै नेताले प्रमुख दलमाथि प्रश्न उठाइएको नभएर उठाउने प्रयास मात्र गरिएको बताए ।
प्रमुख दलहरूमाथि प्रश्न उठाइँदै छ, तपाईंहरूको सामूहिक जवाफ के हो भन्ने प्रश्नमा देउवाले अहिले जवाफ दिने समय नभएको बताए । “अहिले जवाफ दिने समय होइन, हामी उचित समयमा उचित जवाफ दिने नै छौँ,” देउवाले भने, “अहिले प्रश्न उठाउनेहरूलाई उठाउन दिनोस् ।”






















