संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार नेपाल आउने


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
२०१७ जनवरीमा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले आगामी मंगलबार संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण पनि गर्नेछन् ।
महासचिवका साथमा संयुक्त राष्ट्रसंघका शान्तिकार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसंघको टोली पनि सहभागी हुनेछ ।भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस आगामी बुधबार काठमाडौंबाट फिर्ता हुनेछन् ।






















