राजनीति

राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नवलपुर टुडे
२०८० कार्तिक ९ | मध्यान्ह ०७:०७ बजे

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । बिहीवार अमेरिका भ्रमण जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउन नसकेको आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदबाबका कार्यक्रमहरु अघि सार्ने लिङ्देनले बताए । उनले जनआन्दोलनका लागि पार्टीले तयारीलाई तीब्र बनाएको बताए । लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही आन्दोलनको पूर्वाधार निर्माण गर्ने क्रममा छ । प्रवासमा पनि भ्रमण तिब्र बनाइरहेका छौँ । जनआन्दोलन, जनदबाब सिर्जना गर्ने कार्यक्रम गरिरहेका छौँ । तयारी तिब्र रुपमा चलिरहेको छ ।

दशैँ, तिहार र छठ सकिनासाथ केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय गर्नेछ । देशको अहिलेको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्ने राजालाई गाली गर्नुको बदला अहिलेको परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउनुपर्छ, राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छ भन्ने दिन गयो ।’ दशैँ, तिहार र छठ सकिनासाथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय गरिने लिङ्देनले बताए ।

कमेन्टहरु