राजनीति

एनआरएनए: आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई

नवलपुर टुडे
२०८० कार्तिक ६ | बिहान ०६:०७ बजे

काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताए । ‘एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।’

सो अवसरमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्य  गर्न तयार रहेको बताएका थिए। आफूले चुनावी घोषणापत्रमा २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गरेको भन्दै सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित पूर्व अध्यक्ष कुल आचार्य,सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी,उपमहासचिव प्रविन गुरुङ,सचिव टंक गैरे,कोषाध्यक्ष ठाकुर ढुंगाना,एनआरएन अभियन्ता डिबी क्षेत्री,नारायण आचार्य,युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए । एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूको माग अनुसार नागरिकता विधेयक कार्यान्वयन आएर गैरआवासीय नेपाली नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशमा बसोबास गरी रहेका नेपाली नागरिकहरुले मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने बताए । नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीका अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न आग्रह गरे । उनले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे ।

कमेन्टहरु