मुख्य समाचार

बौद्धमा लुटेराको समूहमाथि प्रहरीले चलायो गोली : एक जना घाइते, दुई जना पक्राउ

नवलपुर टुडे
२०८० अशोज २५ | मध्यान्ह ०३:०६ बजे

काठमाडौँ, असोज २५ । काठमाडौंको बौद्धस्थित जगडोलमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । 

लुटपाटमा संलग्न समूहले पेस्तोल देखाएपछि जवाफी फायर गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए । प्रहरीको गोली लागेर समूहका नाइके सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । घलानको दाहिने घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि जोरपाटीस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

घटनास्थलबाट दुईजनालाई पक्राउ गरिएको एसएसपी राठौरले जानकारी दिए । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा रहेका छन् । लुटेरा समूहको दुइवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

घटनास्थलबाट फरार रहेका केही ब्यक्तिलाई प्रहरीले खोजी रहेको छ । लुटेरा समूहको साथबाट प्रहरीले एक थान सनासो, ९ एमएम पेस्तोल १ थान र ७ राउण्ड गोली पनि बरामद गरिएको एसएसपी राठौरले जानकारी दिए । 

कमेन्टहरु