मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, त्यहाँको स्थानीय प्रशासन बेखबर

नवलपुर टुडे
२०८० अशोज २५ | मध्यान्ह १२:०६ बजे

दार्चुला, असोज २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेका छन् । तर यसबारे स्थानीय प्रशासन बेखबर रहेको पाइएको छ ।

मोदी हेलिकप्टरमार्फत नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै कैलाश पर्वत र पार्वतीकुण्डको दर्शन गरेको भनी सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राखेका छन् । उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेका थिए ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने बुझिएको छ । भारतीय प्रधानमन्त्री मोदी पुगेको ठाउँ नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

कमेन्टहरु