खेलकुद

१९औँ एसियाड खेलकुद प्रतियोगितामा नेपालको कम्तीमा कांस्य पदक पक्का

नवलपुर टुडे
२०८० अशोज १८ | बिहान ०८:०६ बजे
तस्बिर : ज्ञानेन्द्र कार्की

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ । नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश गर्दै कम्तीमा कांस्य पदक निश्चित गरेको हो । प्रतियोतिगाअन्तर्गत बुधबार साबिकको स्वर्ण पदक विजेता इरानले बंगलादेशलाई समूह चरणमा हराएसँगै नेपालको पदक निश्चित भएको हो । इरानले एकपक्षीय खेलमा बंगलादेशलाई ५४–१६ ले पाखा लगायो ।

आगामी शुक्रबार फाइनल प्रवेशका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल समूह ‘बी’को उपविजेता रूपमा सेमिफाइनल प्रवेश गरेको हो । भारत समूह ‘ए’को विजेता हो । नेपाल भारतसँग पराजित हुँदा पनि कांस्य पदक निश्चित छ । प्रतियोगिताको नियमअनुसार सेमिफाइनलिस्ट टोलीलाई संयुक्त रूपमा कांस्य पदक दिइनेछ ।

पाँच वर्षअघि नेपाल र भारतबीच १३औँ एसियन खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । घरेलु कोर्टमा नेपाल भारतसँग एकपक्षीय खेलमा ५०–१३ ले निराश भएको थियो । पाँच वर्षपछि पुनः महत्वपूर्ण भिडन्तमा भारत र नेपालबीच खेल हुन लागेको हो ।

समूह ‘ए’मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड रहे । नेपालको समूह ‘बी’मा इरान र बंगलादेश रहेका थिए । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो । दोस्रो खेलमा इरानले नेपालमाथि ४३–१९ ले जित हात पारेको थियो । बंगलादेश दुईवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

डेब्यु एसियाडमै पदक
नेपाली महिला कबड्डी टोलीले पहिलोपटक एसियाडमा सहभागिता जनाएको हो । डेब्यु एसियाडमै एक खेल जित्दै कांस्य पदकको एकदम नजिक पुगेको छ । ‘हामीलाई डेब्यु सहभागितामै पदक जित्न अवसर पाउँदा निकै खुसी लागेको छ,’ नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले भने, ‘कम्तीमा यस खेलमा नेपाल खाली हात फर्कनुपर्ने अवस्था आएन ।’ उनले सेमिफाइनलमा विपक्षी टोलीलाई चुनौती दिने बताए ।

‘हामी फाइनल प्रवेशका लागि प्रयास गर्छौं,’ उनले भने । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्टस् खेलहरू तेक्वान्दो, बक्सिङ, उसु र जुडोलगायतका खेलाडी पदकविहीन बनेका छन् । पुरुष क्रिकेटको सम्भावना पनि भारतसँग क्वार्टरफाइनलमा पराजित भएसँगै सकिएको थियो । नेपालले अब कराँते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ ।

नेपाली महिला कबड्डी टोली
मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गंगा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारू, कलावती पन्त, ईशा राई, सुनीता थापा, नितु गुरुङ र मनमती विष्ट ।

एथलेटिक्समा पार्कीको समय सुधार
एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् । हाङझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरेका हुन् । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३औँ सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए । विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११औँ स्थानमा रहे । २० जनाले नाम दर्ता गराए पनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् । भारतका मुकुन्द साब्ले १३ मिनेट २१.०९ सेकेन्ड समयका साथ दोस्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयका साथ तेस्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् ।

रसिला प्रिक्वार्टरफाइनलमै सीमित
एसियाडअन्तर्गत ब्याडमिन्टनको महिला एकलतर्फ नेपालकी रसिला महर्जनको यात्रा प्रिक्वार्टरफाइनलमै सीमित भएको छ । रसिला बुधबार चीनकी बिङजिओ हेसँग २–० को सोझो सेटमा पराजित भइन् । १८ मिनेट चलेको खेल रसिलाले १०–२१ र ४–२१ ले गुमाएकी हुन् ।

उनले मंगलबार अन्तिम ३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २–० को सोझो सेटको जित निकालेकी थिइन् । यसैगरी, मिक्स डबल्समा विष्णु कटुवाल र नङसलदेवी तामाङ अन्तिम १६ मै रोकिए । दुवै खेलाडी चीनका सिवी झा र याकिओङ हुवाङको जोडीसँग २–० कै सोझो सेटमा पराजित भएका हुन् ।२२ मिनेट चलेको खेलमा विष्णु र नङसल ४–२१ र ७–२१ ले पराजित भएका छन् । यो जोडी मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१–१६ र २१–७ ले हराउँदै प्रिक्वार्टरफाइनलमा पुगेको थियो ।

४९ वर्षपछि सिंगापुरलाई स्वर्ण
एसियाडमा सिंगापुरले ४९ वर्षपछि स्वर्ण पदक जितेको छ । दुई सय मिटर महिला फाइनलमा शान्ति पेरेरियाले २३.०९ सेकेन्डमा दौड पूरा गरी सिंगापुरलाई स्वर्ण पदक दिलाएकी हुन् । २७ वर्षीया शान्तिले एक दिनअघि पनि सिंगापुरलाई सय मिटर दौडमा रजत दिलाएकी थिइन् । शान्तिले स्वर्ण जितेको स्पर्धामा चीनकी ली युटिन दोस्रो र बहराइनकी ओडिओङ तेस्रो भएका थिए । शान्तिले दुई सय मिटरको अन्तिम क्षणमा पदक जितेको पक्का भएको थाहा पाएको बताएकी छिन् ।

‘जब मैले लास्ट ल्याप लिएँ, त्यसवेला देशका लागि स्वर्ण पदक पक्का भएको थाहा पाइसकेकी थिएँ,’ उनले भनिन्, ‘यो क्षणको बयान गर्न शब्द नै छैन,’ उनले भनिन् ‘सिंगापुरको एथलेटिक्स इतिहासमा मेरो नाममा अब स्वर्ण पदक रह्यो, एसियाडमा हामीले स्वर्ण जित्न ४९ वर्ष लाग्यो ।’ सन् १९७४ मा ची स्वि लीले महिला चार सय मिटर दौडमा सिंगापुरलाई पहिलो स्वर्ण दिलाएकी थिइन् । यो इरानको तेहरानमा भएको थियो ।

कमेन्टहरु