एनआईसी एसिया बैंकको शाखा प्रबन्धकसहित कर्मचारीको मिलोमतोमा ग्राहकमाथि ठगी


दिपेश कुमार शाह
रौतहट, असोज १३ । रौतहटको गरुडामा रहेको एनआईसी एसिया बैंकको शाखा प्रबन्धकसहित कर्मचारीको मिलोमतोमा ग्राहकलाई नै ठगेका छन् ।
शाखा प्रबन्धक अमोद गुप्तासहित कर्मचारीविरूद्व तीनजनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । ठगीको उजुरी जिल्ला प्रशासन कार्यालयमा आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान गर्न पठाएको सिडियोले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि उजुरी प्राप्त भएको र अनुसन्धान कार्य अगाडि बढाएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताले एनआइसी एसिया बैङ्कका गरुडा शाखा प्रबन्धक र अन्य कर्मचारीहरूले ठगी गरेको भन्दै आएको उजुरीलाई छानबिनको क्रममा बैङ्कका कर्मचारीलाई बोलाएर अनुसन्धान गर्दै तारेखमा छोडेको बताएका छन् ।
ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत शाखा प्रबन्धक गुप्ताले चन्द्रपुर नगरपालिका-१ मा रहेको जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि, दुर्गा भगवती गाउँपालिकामा रहेको अशोका एग्रिकल्चर र चन्द्रपुर-८ मा रहेको अम्बे कृषि फर्मका प्रोप्राइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएर फिर्ता नगरेको भन्दै उजुरी परेको हो ।
सर्लाही बरहथवा नगरपालिका-१० सुन्दरपुर चोहर्वामा रहेको ४ बिगाह १७ कठ्ठा जमिन अशोक कुमार साहले एनआइसी एसिया बैंकमा धितो राखी ४ करोड ७५ लाख ऋण स्वीकृत गराएका थिए । कृषि प्रयोजनको लागि गत माघमा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि शाखा प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गा भगवती-१ का प्रोप्राइटर अशोक कुमार साहसँग नौ वटा खाली चेकमा हस्ताक्षर गराएका थिए ।
सोही चेकबाट शाखा प्रबन्धक गुप्ताले कर्मचारीसँगको मिलिमतोमा रकम निकालेका हुन् । गत ०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार झिकेको पाइएको छ । शाखा प्रबन्धक गुप्ताले ८५ लाखभन्दा बढी रकम झिकेको पाइएको छ ।
यसैगरी जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि चन्द्रपुर १० को नाममा रहेको चन्द्रपुर-१० डुमरियाको २५ कठ्ठा र चन्द्रपुर-९ को घरसहितको २ कठ्ठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहसँग ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधव प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको पाइएको हो ।
अम्बे कृषि फर्म चन्द्रपुर-८ को नामबाट निकालिएको रकमको विषयमा बैंकले चेकको विवरण दिन नमानेको बुझिएको छ ।
बैङ्कका शाखा प्रबन्धकसहितका कर्मचारीहरूमाथि अनुसन्धान अगाडि बढाइएपछि सापटको लागि भनेर दिइएको रकम फिर्ता हुने विश्वास पीडितहरूले लिएका छन् ।























