राजनीति

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भोलि बस्दै

नवलपुर टुडे
२०८० अशोज ९ | बिहान ११:०६ बजे

काठमाडौं, असोज ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि बुधबार केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न भोलि अपराह्न ४ बजे पार्टी कार्यालयमा बैठक बोलाएको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।

‘भोलि दुई वटा विषयमा छलफल गर्न संयुक्त दलको बैठक बोलाइएको छ । राष्ट्रपतिले गम्भीर प्रकृतिको फौजदारी अपराधमा सजाय काटिरहेका व्यक्तिलाई दिएको माफी र जनआवाज सुन्ने कार्यक्रमको समीक्षाका लागि बैठक बोलाइएको हो,’ उनले भने ।

राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिएका थिए । कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई आममाफी दिएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता ढकालले बताए ।

रास्वपाले त्यसबारे छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने छ ।

यस्तै रास्वपाले असोज ३ गतेदेखि जनआवाज सुन्न र दस्तावेजमा समेट्न केन्द्रीय सदस्य, सांसदहरूलाई १९ जिल्ला खटाएको थियो । भोलिको बैठकमा त्यसको समीक्षा गरिने कार्यसूची रहेको छ ।

कमेन्टहरु