राजनीति

जेलमा रहेका बालकृष्ण खाणसंग शेखर कोइरालाको भेट अर्थपूर्ण

पत्रपत्रिकाबाट
२०८० अशोज ८ | बिहान ०८:०६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणसँग शेखर कोइरालाको भेट अर्थपूर्ण,  १५औँ महाधिवेशनका लागि नयाँ शक्ति सन्तुलन बनाउने रणनीति

काठमाडौ । १५औँ महाधिवेशनका लागि सभापतिको तयारीमा जुटेका कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले एक महिनाको अन्तरमा केन्द्रीय कारागार सुन्धारा पुगेर बालकृष्ण खाणसँग भेट गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य खाणसँग कोइरालाको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

खाण पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिला नेता हुन्, साथै उनी कांग्रेसभित्र बलियो पकड भएका नेतामध्येका एक पनि हुन् । कोइरालाले पछिल्लोपटक शनिबार सुन्धारा पुगेर खाणसँग भेट गरेका थिए । यसअघि १३ भदौमा पनि कोइराला खाणलाई भेट्न गएका थिए । स्रोतका अनुसार भेटमा खाणले सभापति देउवाबाट कानुनी लडाइँलगायतमा अपेक्षाकृत सहयोग नपाएको गुनासो गरेका थिए । 

७ साउनमा केन्द्रीय समिति बैठकमा कोइरालाले धारणा राख्ने क्रममा भुटानी शरणार्थी प्रकरणले नेपालको छवि धुमलिएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नहुने बताएका थिए । ‘सुशासन : भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्छन् । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन,’ बैठकमा उनले भनेका थिए । बैठकमा महामन्त्री गगन थापालगायतका केही सदस्य खाणलाई केन्द्रीय समितिबाट निलम्बन गर्नुपर्ने पक्षमा उभिएका थिए । 

केन्द्रीय समितिमा खाणको नामै नलिई उनीमाथि प्रहार गरेका कोइरालाले त्यसपछि दुईपटक भेट गरेका छन् । यसलाई कांग्रेसभित्र खाण फकाउने कोइरालाको रणनीतिको अंशका रूपमा हेरिएको छ । कोइरालानिकट स्रोतका अनुसार उनी संस्थापनसँग असन्तुष्ट केन्द्रीय सदस्य, जिल्ला सभापति र जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा छन् । यसैअनुसार उनले महाधिवेशनमा हार–जितमा भूमिका खेल्न सक्ने खाणसँग सम्पर्क बढाएका हुन् । 

शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले शनिबारसहित दुईपटक भेट भएको र राजनीतिक विषयमा पनि कुराकानी भएको बताए । ‘उहाँहरूबीच शनिबारसहित दुईपटक भेट भएको छ । सामान्य भेटघाट हो । राजनीतिक रूपमा उहाँ संस्थापननिकट हुनुहुन्छ, तर स्वाभाविक रूपमा राजनीतिक व्यक्तिबीच भेट भएपछि राजनीतिक विषय र देशको परिस्थितिको विषयमा छलफल हुने  नै भयो,’ उनले भने । जेलका एक अधिकारीका अनुसार कांग्रेस नेताहरू जेलमा पुगेर खाणसँग भेट गरिरहेका छन् । ‘कोइराला पनि दोहोर्‍याएर आइरहनुभएको छ । खाणलाई बारम्बार भेट्न आउनेमा सहमहामन्त्री महेन्द्र यादव, राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी छन्,’ ती अधिकारीले भने । साथै तरुण दलका नेता–कार्यकर्ता पनि उनलाई भेट्न पुग्ने गर्छन् । सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि भने उनी पुगेका छैनन् । 

१५औँ महाधिवेशनकेन्द्रित रणनीतिअन्तर्गत पछिल्लो समय कोइरालाले इतर समूहलाई पकडमा राख्ने र संस्थापनतर्फका नेतालाई रिझाउने प्रयास गरिरहेका छन् । १० साउनको केन्द्रीय समिति बैठकपछिको कोइरालाका गतिविधि महाधिवेशनकेन्द्रित देखिन्छन् । 

सभापतिको तयारीमा लागे पनि उनले औपचारिक घोषणा गरेका छैनन् । बरु २२ भदौमा कोइरालाले सभापतिका लागि दौडिने समय आइनसकेको जिकिर गरेका थिए ।  १४औँ महाधिवेशनमा ‘यसैपटक एकपटक भन्ने नारासहित मैदानमा हुनुहुन्थ्यो, फेरि सभापतिमा लड्नुहुन्छ त ?’ भन्ने प्रश्नमा उनको ठट्यौली जवाफ थियो, ‘यो पटक भएन नि त !’ 

निकट केन्द्रीय सदस्य मधु आचार्य पछिल्लो समय कोइरालाको सक्रियताले महाधिवेशनकेन्द्रित रणनीति स्पष्ट संकेत गर्ने बताउँछन् । अघिल्लो निर्वाचनमा सभापतिमा पराजित बनेको र छविलाई लिएर कुनै प्रश्न नरहेकाले कोइरालाको रणनीतिलाई स्वाभाविक मान्नुपर्ने आचार्यको मत छ । 

कोइरालाको सक्रियता आफ्नै समूह बलियो बनाउने रणनीतिमा पनि रहेको उनको भनाइ छ । ‘पछिल्लो समय उहाँ पार्टीको अर्को विचार समूहसँग पनि सम्पर्क गरिरहनुभएको छ र उहाँहरू पनि सम्पर्कमा आउनुभएको देखिन्छ,’ आचार्यले भने, ‘राजनीतिमा एउटा निर्वाचन सकिएपछि अर्को निर्वाचनको तयारी सुरु हुन्छ ।’ 

विधानको व्यवस्था र आफ्नै घोषणाअनुसार अब महाधिवेशनमा देउवा तेस्रो कार्यकालको नेतृत्वका लागि दाबेदार रहने छैनन् । देउवाको दाबी नहुँदा कांग्रेसमा शक्ति सन्तुलनमा फेरबदल हुने अवस्था छ । देउवा समूहबाट सभापतिको उम्मेदवारबारे अलमल छ । यसलाई कोइरालाले आफूलाई बलियो साबित गर्ने अवसरको रूपमा लिएका छन् । 

पछिल्लो समय विभिन्न कार्यक्रममा जिल्ला जाने र समानान्तर रूपमा नेता–कार्यकर्तासँग भेटघाटलगायतका गतिविधिलाई निरन्तरता दिइरहेका छन् । कोइरालाले पनि समानान्तर रूपमा नेता–कार्यकर्तासँग सम्पर्क गरिरहेको स्विकारेका छन् । कोइरालाले ०८२ मा निर्वाचन गराउन लागिपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल कोइराला पछिल्लो समय आफ्नो समूहलाई एकीकृत गर्न र समूहलाई बलियो बनाउन लागेको बताउँछन् । 

महामन्त्री थापा र नेता कोइरालाको सम्बन्धमा केही दूरीको अवस्था देखिए पनि पछिल्लो समय कोइरालाको सक्रियताले दूरी कम गरेको उनी बताउँछन् । विश्लेषक पुरञ्जन आचार्य कोइरालाले पछिल्लो समय राजनीतिक गतिविधिलाई तीव्र बनाएको महसुस हुने बताउँछन् । ‘पछिल्लो समय गतिविधि तेज बनाएको देखिन्छ । पार्टीमा संगठित हस्तक्षेप गर्ने र समूह विस्तार गर्ने मनोदशा पाएको छु । उहाँलाई पार्टी र जनस्तरबाटै यसका लागि दबाब छ,’ उनले भने, ‘उहाँ अहिले सरकारको काम प्रभावकारी बनाउने र पार्टीलाई विधानमा चलाउने अभियानमा हुनुहुन्छ ।’ 

कांग्रेस बैठकमा सरकार र मन्त्रीको कार्यसम्पादन समीक्षाको माग
कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार र पार्टीका तर्फबाट सहभागी मन्त्रीको कार्यसम्पादनमाथि समीक्षाको माग उठेको छ । सानेपामा जारी बैठकमा आइतबार धारणा राख्ने सदस्यहरूले सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी नौ मन्त्रीले परिणाम ल्याउने गरी काम गर्न नसकेको आरोप लगाए । ४ असोजबाट जारी बैठकमा अहिलेसम्म ३२ केन्द्रीय सदस्यले धारणा राखेका छन् । नयाँ पत्रीकाबाट साभार

कमेन्टहरु