सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली


काठमाडौँ, असोज ६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको आरोप छ ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे । चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको आरोप छ । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए ।
‘चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँदने ? मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ’ उनले भने, ‘धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदि इत्यादि छ भन्न सकिँदैन ।’
अध्यक्ष ओलीले देशको मूल्यमा कुनै पनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए ।






















