क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध


काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुने देखिएको छ । अध्यक्षमा उनको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् ।
क्यानको अध्यक्षमा उमेदवारी घोषणा गरेका विनय राजभण्डारीले उमेदवारी फिर्ता लिएसँगै चन्द निर्विरोध निर्वाचित हुने देखिएको हो । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयले निर्वाचनको केही घण्टा अघिमात्र उमेदवारी फिर्ता लिएका हुन् ।
उनले मनोनयनको फारम पनि भरिसकेका थिए । तर, आफ्नो निर्णयबाट पछि हट्दै उनले मनोनयन दर्ता गरेनन् । भरिसकेको फारम च्यातेर उनले चतुरलाई नै समर्थन गर्ने भएका छन् ।
यसअघि विनयले शुक्रबार चन्द नेत्तृत्वको चार वर्षे कार्यकाल असफल भएको बताउँदै आफूले उमेदवारी दिएको जानकारी गराएका थिए । उनलाई चतुरले के आश्वासन दिएर उम्मेदवारी फिर्ता गराए भन्ने खुलिसकेको छैन ।























