मुख्य समाचार

सरकार र शिक्षकहरुबीच भयो सहमति, भोलिदेखि सम्पूर्ण आन्दोलन फिर्ता

नवलपुर टुडे
२०८० अशोज ५ | मध्यान्ह ०५:०६ बजे

काठमाडौं, असोज ५ । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूबीच सहमति भएको छ । सिंहदरबारमा शुक्रबार अपरान्ह शिक्षकका प्रतिनिधि र सरकारबीच भएको वार्तापछि सहमति भएको हो । वार्तापछि भोलिदेखि शिक्षकहरुले पनि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । 

सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ । 

यस्तै शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने सहमति पनि भएको छ । 

यस्तै माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाकाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको हुने व्यवस्था गर्ने, प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने, शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउनेलगायतका विषयमा पनि  सहमति भएको छ । 

विद्यालय शिक्षा विधेयकमा भएका केही बुँदाहरुमा असहमति जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका थिए ।

कमेन्टहरु