तिजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवकको मृत्यु

असिम कामु
२०८० अशोज १ | बिहान १०:०६ बजे

पाल्पा, असोज १ । पाल्पाको तिनाउँ गाउँपालिका–२ घोडेवासमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । तीजको नाचगानका क्रममा विवाद हुँदा कुटपिटबाट स्थानीय २४ वर्षीय युवक सुनिल खत्रीको मृत्यु भएको हो ।
हिजो (आइतबार) दरखाने दिन बेलुका नाचगानका क्रममा सुनिल र साथीहरुबीच सामान्य विवाद भएको थियो । यो विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनापछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले झगडा तथा कुटपिटमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिप्रका पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।























