एकीकृत समाजवादीको नयाँ कार्यविभाजनप्रति नेताहरुको असन्तुष्टि, दुई केन्द्रीय सदस्यले छाडे पार्टी


काठमाडौं, भदौ २९। नेकपा एकीकृत समाजवादीको नयाँ कार्यविभाजनले नेताहरुमा असन्तुष्टि पैदा भएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको ११औँ अन्तरपार्टी निर्देशन (अपानी) प्रति नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
एकीकृत समाजवादीको सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । यस पटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको नेपालले जारी गरेको अपानिमा उल्लेख छ ।
कार्यविभाजनमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका छन् । दैलेख सहइन्चार्ज र क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएकी मल्लले सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगिएको बताएकी छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको सचिवको जिम्मेवारी पाएका गुरुङले पनि पार्टी परित्याग गरेको जानकारी नेताहरूलाई गराएका छन् । पार्टी एक नेताका अनुसार नेताहरूको कार्यविभाजनमा अध्यक्ष नेपालले एकलौटी गरेका छन् । निर्णय सच्याउन पार्टीमा नेताहरूले दबाब दिइरहेका छन् ।
एकलौटी ढंगले निर्णय गरिएको भन्दै सम्मानित नेता झलनाथ खनाल पनि असन्तुष्ट छन् । खनालले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको उनी निकट नेताले जानकारी दिए ।






















