विश्वका सय उदीयमान नेताको सूचीमा परे मेयर बालेन शाह


काठमाडौं, भदौ २८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदीयमान नेताको सूचीमा परेका छन् । विश्व प्रतिष्ठित टाइम पत्रिकाले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई पनि समेटेको हो ।
आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम पत्रिकाले सय जना छनोट गरेको हो । जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन् ।
टाइम पत्रिकाले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको बताएको छ । मेयर शाहले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ ।
पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ ।
बालेनकै प्रभावको आलोकमा ३ सय ८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइम पत्रिकाले उल्लेख गरेको छ ।























