रास्वपाले थाल्यो मोहनजंग थापामाथि छानबिन


काठमाडौं, भदौ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो काण्डमा निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेका थिए ।
एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले रविका कोर टिम सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि रास्वपाले बुधवार विज्ञप्ति जारी गर्दै थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो,’ पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ ।’
बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न रास्वपाले आग्रह पनि गरेको छ ।
यस्तै आरोप प्रमाणित गर्न थापाले श्रेष्ठलाई चुनौती दिएका थिए । पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारबाही भोग्न आफू तयार भएको सामाजिक सञ्चालमार्फत जानकारी उनले जानकारी दिएका थिए ।
























