नवलपुरमा ६ दिनदेखि आतंक मच्चाइरहेका दुईवटा बाघ नियन्त्रणमा


नवलपुर, भदौ २७ । नवलपुरमा दुईवटा बाघलाई नियन्त्रणमा लिइएको छ । विगत ६ दिनदेखि मध्यविन्दु नगरपालिका – २ नन्दपुर, सेहरी, सीतापुर, पनौती, लुस्लहरीलगायतका क्षेत्रमा आतंक मच्चाएका दुईवटा बाघलाई मंगलबार र बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।
बाघले दैनिकजसो राति गाउँमा प्रवेश गरेर गाई, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरमाथि आक्रमण जारी राखेको थियो । लगातार बाघको आतंकबाट त्रसित स्थानीयले राति प्रशासन गुहारेर बाघलाई नियन्त्रणमा लिन सफल भएका हुन् । एउटा बाघ मंगलबार बिहान र अर्को बुधबार बिहानीपख नियन्त्रणमा लिइएको स्थानीयले जानकारी गराएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोली, नेपाली सेना, मध्यवर्ती, समुदायमा आधारित वन्यजन्तु चोरी शिकारी नियन्त्रण युवा जागरण इकाइ, पश्चिम सेक्टर प्रशासनलगायतको टोली खटिएर बाघ नियन्त्रणमा लिइएको थियो ।
इकाइ अध्यक्ष हुमबहादुर थनेतका अनुसार बुधबार बिहानीपख डार्ट हानेर नियन्त्रणमा लिइएको भाले बाघ निकै ठूलो थियो । त्यो बाघ सात वर्षको रहेको उनले बताए । अहिले भालेपोथी संसर्गको समय भएकाले गाउँमा बाघको त्रास फैलिएको हो । नारायणी पारिबाट भाले र पोथी बाघ गाउँमा पसेको देखिन्छ ।
“भाले बाघले पोथी बाघसँगै रहेका साना बाघ मारेर पोथीसँग संसर्ग गर्ने समय अहिले रहेछ,” अध्यक्ष थनेतले भने, “यस्तो बेलामा पोथी बाघले बच्चा जोगाउनका लागि भाले बाघलाई टाढा टाढा लिएर जाने गरेको देखिन्छ । त्यस्तो बेलामा हाम्रो गाउँसम्म बाघ आएको देखिन्छ । गाउँमा आइसकेपछि यहाँ घरपालुवा जनावरमाथि आक्रमण गरेको थियो ।”
मंगलबार बिहान समातेको पोथी बाघको तीनवटा बच्चामध्येको एक रहेको थनेतको अनुमान छ । उक्त बाघ डेढवर्षको मात्रै रहेको उनले बताए । दुईवटा बाघले गरेर अहिले उक्त गाउँमा पाँचवटा बाख्रा, दुईवटा गाई, दुईवटा बंगुर मारेको उनले जानकारी दिए ।
नियन्त्रणमा लिइएका बाघलाई चितवनस्थित कसरा खोरमा राख्नका लागि लगिएको छ ।























