डोल्पाको भेरी नदि किनारमा भेटिएको शव गुल्मपति पण्डितकै भएको पुष्टि


काठमाडौं, भदौ २७ । मंगलबार डोल्पाको भेरी नदि किनारमा भेटिएको शव गुल्मपति विमल पण्डितकै भएको पुष्टि भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव माछा मार्न गएका स्थानीय सिवमल सार्कीले देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए । सार्कीले खबर गर्नेबित्तिकै खदांग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको थियो ।
डोल्पाका प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीको कमान्डमा नेपाली सेनाका मेजर रवि शाहको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो । उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
‘मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव बगाएर ल्याएको छ भन्ने खबर आयो । नेपाली सेना र प्रहरीहरू त्यहाँ पुगेर शव निकालेर सदरमुकाम ल्यायौं । धेरै दिनदेखि शव पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन सकेन । सदरमुकाम ल्याएपछि उहाँको बुवाले शवको पहिचान गर्नुभयो,’ डिएसपी बुढाथोकीले जानकारी दिए ।
सेनानी पण्डितको शव मंगलबार राति नै पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको पनि बुढाथोकीले जानकारी दिए । नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए ।























