नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

नवलपुर टुडे
२०८० भदौ २५ | बिहान ११:०५ बजे

काठमाडौं, भदौ २५ । नेपालगञ्जस्थित राँझा विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सरकारी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् ।
नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार विमानस्थलमा चेकजाँचको क्रममा अधिकृत सापकोटाको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको हो ।
पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।























