नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित


काठमाडौं, भदौ २१ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित भएको छ । पुर्पक्षका लागि थुना र धरौटी माग गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध २० जना प्रतिवादीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
बिहीबार न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर निवेदकका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । गत साउन २९ गते थप १८ जनाले यस प्रकरणमा जाहेरी दिएका थिए । उनीहरूले एक करोड ८२ लाख ९२ हजारभन्दा बढी बिगो मागदाबी गरी जाहेरी हालेका थिए ।























