देउवा समूहबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : शशांक कोइराला


चितवन, भदौ २० । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुंगो भने लागिनसकेको बताए ।
विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । कांग्रेसको आगामी महाधिवेशनमा देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’
पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने कोइरालाको भनाइ थियो । तर, यस विषयमा आफूलाई सभापति देउवासँग भने केही कुरा नभएको उनले प्रस्ट पारे ।
उनले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौँ, उहाँहरूको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।’






















