खेलकुद

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

नवलपुर टुडे
२०८० भदौ १८ | मध्यान्ह ०८:०५ बजे

काठमाडौं, भदौ १८ । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । टस जितेर भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए । उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए । उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने ।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । 

भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए । यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए । कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए । भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए ।

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए । उनले आसिफ शेखसँग पाँचौ विकेटका लागि  ३१ रनको साझेदारी गरे । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी भयो । दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूको धरापमा पर्नुअघि २५ बलमा ३ चौकाको मद्दतमा २९ रनको योगदान गरे ।

आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । मोहमद सामीको बलमा ४७.२ ओभरमा आउट हुनुअघि उनले ४८ रन जोडे । सोमपालले ५६ बलमा १ चौका र २ छक्का हिर्काए । लगत्तै सन्दीप लामिछाने ९ रनमा रनआउट भएका थिए भने अन्तिम विकेटको रुपमा ललित राजवंशी शून्यमा आउट भए ।

बलिङमा भारतका जडेजा र मोहमद सिराजले ३-३ विकेट लिए । खेलमा जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ ।

कमेन्टहरु