मुख्य समाचार

कागबेनीका बाढी पीडितलाई राहत वितरण

रासस
२०८० भदौ १८ | बिहान ०९:०५ बजे

कागबेनी, भदौ १८ । मुस्ताङको कागबेनीका बाढीपीडितलाई राहत वितरण गरिएको छ । अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा बाढीपीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो ।

यहाँ गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको थियो । बाढीबाट प्रभावित भएका ती परिवारलाई अनन्त विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले राहत वितरण गरेका थिए । पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडासहित तत्काल आवश्यक पर्ने भाँडाकुँडा र अन्य सामग्रीसँगै प्रतिपरिवार १० हजार उपलब्ध गराइएको विश्वशान्ति गण्डकी महासभाका प्रवक्ता आचार्य सुदर्शन बडालले जानकारी दिए ।

राहत वितरण समारोहमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगोल गुरुङका साथै सो गाउँपालिकाका उपाध्यक्ष, वडा नं ४ का अध्यक्षसहितका जनप्रतिनिधि उपस्थित थिए । बाढीबाट मुक्तिनाथ, दामोदरकुण्ड एवं कागबेनीधाम जाने तीर्थालुको आवास तथा भोजनका लागि कागबेनीमा मुक्तिनाथ बाबाको सङ्कल्पमा निर्माण भएको अतिथि आश्रम गृहमा पनि क्षति पुगेको छ ।

उक्त विकट धार्मिक क्षेत्रमा जाने तीर्थालुको सेवामा रहेको सो आश्रम पनि बाढीले बगाएपछि साधुसन्त एवं टाढाबाट मुक्तिक्षेत्रमा पुग्ने तीर्थयात्रीका लागि अब यहाँका होटलबाहेक अर्को विकल्प नरहेको बताइएको छ । उक्त आश्रमबाट तीर्थालुलाई निःशुल्क सेवा प्रदान हुँदै आएको थियो । बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण सङ्कलन गरिएको थियो । व्यक्तिका ५० वटा घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ ।

उक्त बाढीले २९ वटा घर पूर्ण क्षति भएको छ । ९ वटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका छन् ।

कमेन्टहरु