राजनीति

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो: शेखर कोइराला

रासस
२०८० भदौ १५ | मध्यान्ह ०२:०५ बजे

तनहुँ, भदौ १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा कोइरालाले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब  कांग्रेस एकढिक्का हुनुपर्छ,’ उनले भने । 

उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले  तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिए । ‘देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब  कूटनीतिक क्षेत्रमा  समेत कतै ठीक देखिँदैन, यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तवसम्म कठिन हुन्छ,’ उनले भने ।

कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने बताए । तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा  कोइरालाले सुझाव दिए ।

कमेन्टहरु