कर्णाली प्रदेश, राजनीति

प्रचण्ड सरकार अन्य सरकार जस्तो होइन: विप्लव

नवलपुर टुडे
२०८० भदौ १४ | मध्यान्ह ०६:०५ बजे

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले प्रचण्ड सरकार अन्य सरकार जस्तो नभएको दाबी गरेका छन् । उनले सत्ता र सरकार फरक रहेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा लडाइँ गर्न आग्रह गरे ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै विप्लवले नेपाललाई युक्रेन बनाउने षड्यन्त्र साम्राज्यवादी तत्वहरुले गरिरहेको बताए । उनले एमसीसी जनताको हितमा नभएकोसमेत बताए । ‘यसविरुद्ध सडकमा हामी लड्छौं । प्रधानमन्त्री प्रचण्डले सरकारमा लड्नुपर्छ’, उनले भने ।
 
पूर्वमाओवादी नेता विप्लवले जनयुद्धको नेतृत्व प्रचण्डले र जनआन्दोलनको नेतृत्व माधवकुमार नेपालले गरेको जिकिर गरे । आआफ्नो ठाउँबाट आआफ्नै तरिकाले लडे पनि वर्तमान परिस्थिति अनुकूल त्यो लडाइँ सफल हुन नसकेको उनको भनाइ छ ।

समाजवादी मोर्चा क्रान्तिको प्रतीक भएको बताउँदै उनले इतिहासको समीक्षा गर्दै उपनिवेशको प्रतिगमन र पश्चगामी तत्वको अन्त्य गर्न समाजवादी मोर्चा गठन भएको बताए । ‘अहिले क्रान्तिबाट प्राप्त परिवर्तनलाई बचाउनु छ’, नेता विप्लवले भने, ‘जनयुद्ध, सहिद र घाइतेको सपना पूरा भएको छैन । कम्युनिष्ट कमजोर भएको हल्ला चलाए पनि कमजोर भएको छैन ।’

कमेन्टहरु