खेलकुद

दोस्रो खेलका लागि भारतसँग खेल्न नेपाली टिम श्रीलंकातर्फ प्रस्थान

नवलपुर टुडे
२०८० भदौ १४ | बिहान ०९:०५ बजे

काठमाडौं, भदौ १४ । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकातर्फ गएको छ । नेपाली टिम बिहीबार विहान पाकिस्तानबाट श्रीलंका गएको हो । 

बुधबार भएको समूह ‘ए’ को खेलमा नेपाल घरेलु टिम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । अब नेपालले समूहको दोस्रो खेलमा भदौ १८ गते भारतसँग खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ । त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामै हुनेछ ।

प्रतियोगितामा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपाल गरी ६ देशले एसिया कप २०२३ भाग लिएका छन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन् । प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन् । त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन् ।

पाकिस्तान मुल आयोजक रहेको एसिया कप २०२३ को सह-आयोजक श्रीलंका हो ।

कमेन्टहरु