राजनीति

सिराहाको अम्वासस्थित काठेघरमा एमाले सचिवालय बैठक बस्दै

नवलपुर टुडे
२०८० भदौ १३ | बिहान ०८:०५ बजे

काठमाडौं, भदौ १३ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बिहान ११ बजे बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए । 

एमालेले चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरेको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राख्न लागेको हो । आज बैठकमा हिरक स्तम्भवको शिलान्यास गर्ने कार्यसूची रहेको सचिव भट्टराईले बताए । ‘ यो एमालेको चौथो महाधिवेशन आयोजना गरेको ठाउँ हो । यो ठाउँमा हामीले कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा स्तम्भको शिलान्यास गर्ने छौं,’ उनले भने ।

एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो । तर अत्यधिक वर्षाका कारण उक्त क्षेत्रमा डुबानमा परेकाले बैठक स्थगित गरेको थियो । २०४६ साल भदौ ९ गते एमालेले विष्णुपुरकट्टीमा काठेघर बनाएर चौथो महाधिवेशन आयोजना गरेको थियो । त्यहीँ महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवादी, लेनिनवादी तय गरेको थियो ।

महाधिवेशनले शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो । नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरुद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै ४ वैकिल्पकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो । २०४६ भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थिए ।

५ सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो । पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ  खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिएका थिए । स्थानीय हिराबहादुर सुनुवारको जग्गामा काठेघर बनाएर महाधिवेशन आयोजना गरेको थियो । दुई महिना लगाएर तयार पारेको त्यो घरको संरक्षण गर्न मदन भण्डारी स्मृति पार्क बनाउने तयारी गरिएको छ ।

त्यहाँ रहेको १४ कट्ठा जमिन पार्टीको नाममा खरिद गरेर संरक्षणको तयारी भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए । विष्णुपुरकट्टीमै रहेको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी १८ कट्ठा जमिन पनि त्यही विद्यालयको नाममा बनाउने तयारी रहेको भट्टराईले जानकारी दिए ।

कमेन्टहरु